Tuesday, July 16, 2013

भरतद्वारा संन्यास

काठमाडौ, श्रावण १ - नेपाली भलिबलको एक कालखण्डका रूपमा परिचित भरत शाहले सोमबार खेलजीवनबाट संन्यास लिए । 'बिदा लिने निर्णय गरेको छु,' नेपाल भलिबल संघले कदरपत्रसहित सम्मान गरेपछि ४५ वर्षीय भरतले भने,'तपाईंहरूको मायाले गर्दा खेल क्षेत्रमा सक्रिय हुन सकेको हुँ ।'

अठार वर्ष राष्ट्रिय टिमबाट खेलेका उनले सोह्र वर्ष नेपालको नेतृत्व गरे । अघिल्लो वर्ष नै राष्ट्रिय टिमका कप्तान चुनिए पनि उनले काठमाडौंमा सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट कप्तानी गरेका थिए । सन् २०११ मा बंगलादेशमा भएको ११ सागसम्म नेपाली टिमको नेतृत्व गरेका थिए । उनलाई यसपल्टदेखि कैलाशदत्त भट्टले 'रिप्लेस' गरे ।

प्रहरी निरीक्षक भरतले खेलाडी जीवनबाट टाढिए पनि खेल क्षेत्रमै लागिरहने बताए । पच्चीस वर्ष घरेलु कोर्टमा राज गरेका उनले भने,'जीवनको अमूल्य समय यसैमा दिइयो । यसलाई कहाँ छाड्न सकिन्छ र ।'

भरतले सन् २००५ र २००७ मा श्रीलंकामा प्रेम भण्डारीसँग मिलेर जितेको बिच भलिबल र आठौंमा सागको सेमिफाइनल यात्रालाई अविस्मरणीय समय मान्छन् । उनी दोस्रोपल्ट त प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि भए । पछिल्लो १२ वर्ष (गत वर्ष छाडेर) नेपाली भलिबलमा प्रतियोगिता नहुनुलाई उनले आफ्नो खेलजीवनको खराब क्षणका रूपमा व्याख्या गरे ।

अछाम रेडिकोट-१ का ४५ वर्षीय कुमार केटोले अहिले पनि आफूलाई २२ वर्षकै ठिटो ठानेका छन् । रेफ्री र प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेका उनी अब मिलेमा विवाह गर्ने बताउँछन् । प्रहरीमा २० वर्ष बिताइसकेका उनी आफू माथि आउनुमा संगठनको पनि हात रहेको मान्छन् ।
(कान्तिपुर दैनिकमा प्रकाशित)

No comments:

Post a Comment