जगदीश्वर पाण्डे
काठमाडौ, कार्तिक २८ -एयरपोर्ट-तीनकुने सडक खण्डका छेउमा माटो, बालुवा, सिमेन्टलगायत थुपारिएका छन् । सामान थुपारिए पनि सडक खण्ड कहिलेसम्म पूर्णरूपमा बन्छ भन्न सकिन्न । तर मर्मतका लागि कम्तीमा पनि दुई साता लाग्ने देखिन्छ । सडकका बीचमा पिच छन्, छेउमा सामान्य माटो । छेउ भागलाई फेरि पिच गर्नुपर्छ । एकै ठाउँमा पटक-पटक दोहोरो काम गर्दा श्रम त बढी खर्च हुन्छ नै, साथमा पैसा पनि ।
नेपालले आयोजना गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रममा पर्ने सार्क शिखर सम्मेलन आउन एक साता मात्र बाँकी छ । तर अझैसम्म पनि उल्लेखितझैं अन्य सडकहरूको पनि पूर्णरूपमा काम सकिएका छैन । समग्रमा सार्कलाई तयार पारिने भनिएका सम्पूर्ण भौतिक पूर्वाधार अझै अधुरै छन् ।

